प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राजनीतिक क्रान्ति भइसकेको र अब जनताको जीवनमा वास्तविक परिवर्तन ल्याउनको लागि नयाँ क्रान्तिको आवश्यकता रहेको बताएका छन्। उनले नेकपा (एमाले) को पर्सा जिल्ला कमिटीद्वारा सखुवा प्रसौँनीमा आयोजना गरिएको बृहत पार्टी प्रवेश र जनसभा कार्यक्रमलाई सम्बोधन गर्दै यी कुरा बताएका हुन्।
---------------------- विज्ञापन ----------------------



प्रधानमन्त्री ओलीले भने, “हामी क्रान्तिकारी हौँ। क्रान्तिमा लाग्नु भनेको तोडफोड र जुलुस गर्नु होइन, अब जीवनमा परिवर्तन ल्याउने क्रान्ति गर्न आवश्यक छ।” उनले मधेसका केही पार्टी नेताहरूले संविधानका धाराको राजनीतिमा जनतालाई अलमल्याउने काम गरेको र आफूहरूले भने विकास र उत्पादनमा ध्यान केन्द्रित गर्ने बताए। “हामी उत्पादन र उद्यमशीलतालाई महत्त्व दिन्छौं। यो सरकार समृद्धि र सुशासनका लागि कटिबद्ध छ।”
प्रधानमन्त्री ओलीले यस सरकारको कामलाई व्यवहारबाट प्रमाणित भएको भन्दै भने, “अब तर्क गरिहनु आवश्यक छैन। देश बनाउने पार्टी नेकपा (एमाले) नै हो र एमाले मात्रै हो।” उनले मधेसका आठै जिल्लामा पार्टी प्रवेशको लहर फैलिने विश्वास व्यक्त गरे।
प्रधानमन्त्री ओलीले सखुवा प्रसौँनी र पर्सा जिल्लाका लागि विभिन्न विकास योजनाबारे पनि कुरा गरे। उनले हुलाकी राजमार्गमा १३ आधुनिक सहर निर्माण, सुनकोसी मरिन डाइभर्सन, उद्यमशीलता, कृषि उत्पादन र आय वृद्धिका कामहरूमा आफूले पूर्वमा महत्वपूर्ण योगदान दिएको बताए। यससँगै, पर्साको पोखरिया नगर अस्पतालको स्तरोन्नति र नापी तथा मालपोत कार्यालयको सेवा केन्द्र स्थापना गरिएको जानकारी पनि दिए। उनले चाँडै इलाका प्रशासन कार्यालयको स्थापना हुने कुरा पनि विश्वास दिलाए।
प्रधानमन्त्री ओलीले महिला र युवाहरूलाई सामाजिक र राजनीतिकरूपमा अगाडि बढाउनको लागि आवश्यक सहयोग र सम्मान गर्न आग्रह गरे। “महिला र युवालाई प्रभावकारी रूपमा परिचालन नगरेसम्म बलियो पार्टी बनाउने कुरा सम्भव छैन,” उनले भने।