अभिनेता र चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष भुवन केसीलाई ‘लाईफटाइम एचिभमेन्ट’ अवार्डले सम्मानित गरिएको छ। लन्डनमा आयोजित ‘यति इन्टरनेसनल नेपाली फिल्म अवार्ड २०२४ (इन्फा)’ समारोहमा उनलाई यो प्रतिष्ठित सम्मान प्रदान गरिएको हो।
---------------------- विज्ञापन ----------------------



अवार्ड समारोह लन्डनको ग्रिनफोर्ड हलमा सम्पन्न भएको थियो, जहाँ अनमोल केसी र केकी अधिकारीले सर्वोत्कृष्ट अभिनेता र अभिनेत्रीको पुरस्कार जिते। अनमोलले ‘फर्की फर्की’ र केकीले ‘प्रसाद २’ फिल्मको लागि यो पुरस्कार प्राप्त गरेका हुन्।
समारोहमा नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार विस्तार र कलाकर्मीलाई सम्मान गर्ने उद्देश्यले विभिन्न विधामा पुरस्कार वितरण गरिएको छ। उपेन्द्र सुब्बाले निर्देशकको, आकाश बरालले लेखनको, अर्पण थापाले खलपात्रको, राजेश श्रेष्ठले छायाङ्कनको, र सुरेन्द्र पौडेलले सम्पादकको अवार्ड प्राप्त गरेका छन्।
संगीतकार प्रकाश सपुत, पाश्र्व गायक कालीप्रसाद बास्कोटा, पाश्र्व गायिका समीक्षा अधिकारी, र निर्देशक शिशिर खत्रीले पनि अवार्ड हासिल गरेका छन्। यस वर्षको पपुलर अभिनेता दयाहाङ राई, पपुलर अभिनेत्री मिरुना मगर, र सर्वोत्कृष्ट अभिनेता जुरीतर्फ प्रदीप खड्का र सुपला सापकोटा भएका छन्।
यो अवार्ड नेपाली एसोसिएसन युकेले आयोजना गरेको हो र अगामी वर्ष पनि निरन्तरता पाउने कार्यक्रम संयोजक मनिष कार्कीले बताएका छन्। समारोहमा केकी अधिकारी, अनमोल केसी, जसिता गुरुङ, र शिल्पा मास्केले नृत्य प्रस्तुत गरेका थिए।